अफगानिस्तानमा विद्रोही तालिवानले जेल तोडेर बन्दीहरु भगाए
काबुल – देशका प्रान्तीय राजधानीहरु कब्जा गर्दै अघि बढेको अफगानिस्तानको विद्रोही समूहले गए राति कन्दाहारस्थित जेल तोडेर आफ्नो संगठनका राजनीतिक बन्दीहरुलाई मुक्त गरेको छ ।
यसअघि पनि बारम्बार उक्त जेलमा आक्रमण गर्ने कोशिस गर्दै आएका तालिवान लडाकुले बुधबार राती कान्दाहार जेल तोड्न सफल भएका हुन । उक्त जेलमा तालिवानका महत्वपूर्ण नेता तथा लडाकुहरु राखिएकाले जेल विद्रोहीको निशानमा थियो ।
जेलबाट कति जनालाई भगाइयो भन्ने उल्लेख नगरिए पनि तालिवानले जेल ब्रेकको भिडियो सार्वजनिक गरेका छन् । यसैबीच, अफगान राष्ट्रपति असरफ गनीले राष्ट्रिय सेनाका प्रधान सेनापति वाली अहमदजानीलाई बर्खास्त गरेर नयाँ प्रधानसेनापतिमा हिबातुल्लाह अलिजाईलाई नियुक्त गरेका छन् ।
यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन । देशको झण्डै दुई तिहाई भू–भागमा कब्जा जमाईसकेको विश्वास गरिएको तालिवान समूह तीब्र गतिमा राजधानी काबुलतर्फ अघि बढेको पनि समाचारमा जनाइएको छ । एजेन्सी