सत्ता र शक्तिले मात्तिएका ढकाल, अनुभवले खारिएका प्रधान


काठमाडौं– केही बर्ष अघिसम्म चन्द्र ढकालको नाम एउटा बैंक र वित्तिय क्षेत्रमा लगानीकर्ताका रुपमा मात्र चर्चा थियो। उद्योग वाणिज्य महासंघका गतिविधिमा उनको योगदान र उपस्थिति हुने गरेको थिएन। यहाँसम्मकी शेखर गोल्छा बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुँदासम्म पनि ढकाल महासंघमा चर्चामा आउने नामै थिएन।

उद्योगी व्यापारीको हितका निम्ति बनेको छाता संगठनमा भावी अध्यक्षका रुपमा नै हेरिने बरिष्ठ उपाध्यक्षको निर्वाचनमा ढकाल उभिएका छन्। तर उनीसँग सांगठनिक निकाय चलाउने कुनै पनि अनुभव भने छैन। ‘महासंघ भनेको कुनै बैंक वा वित्तिय संस्था चलाएको जस्तो होइन, यो सर्वत्र रहेका व्यापारी र उद्यमीको पिरमर्कादेखि राज्यसँग नीतिगत तहमा अनुभवी प्रस्तुती राख्ने विषय पनि हो’, महासंघका पूर्वअधिकारीहरू भन्छन्,‘यस्तो अनुभव ढकालमा रहेको हामीले पाएका छैनौं।’

ढकालसँगको स्पर्धाका लागि मैदानमा अनुभवले खारिएका किशोर प्रधान उत्रिएका छन्। उनलाई व्यावसायीक हित र कल्याण गर्न सक्ने आगामी नेतृत्वका रुपमा अनुभवी पूर्वपदाधिकारीको साथ रहेको देखिन्छ।

‘कुनै पनि संगठनमा अस्वभाविक उदयलाई हितकर मानिँदैन। अझ महासंघको हकमा त अनुभवले खारिएका र सबैलाई मिलाउन सक्नेलाई मात्र सम्मानका साथ लिइन्छ’, महासंघका एक पूर्वअध्यक्ष भन्छन्,‘किशोर प्रधानमा अनुभवको गुण छ। ढकालले अहिले नै हतार गर्नु भनेको ठिक होइन।’ 

१३ मंसिरमा निर्वाचन हुँदैछ। प्रधान र ढकालबीच कडा स्पर्धा हुने लगभग पक्का छ। तर, ढकाल स्पर्धीजस्तो नभई जीत नै निकालिसकेको शैलीमा प्रस्तुत हुन थालेका छन्। कतिपयले उनको यो बानीलाई अहंकार र आडम्बर समेत भनेर टिप्पणी गरेका छन्।

कतिपय अन्तरवार्ताहरूमा ढकालले जीतको घोषणा नै गरिसकेका छन्। ‘महासंघको पदाधिकारी हुनु र सत्तासँग नजिक रहनु भनेका अलग कुरा हुन्। देशको समग्र आर्थिक पाटोको नीतिगतदेखि व्यवाहारिक पक्षमा राज्यसँग लड्ने उत्तरदायीत्व महासंघको हुन्छ। तर ढकाल अहिले नै सत्तासँग सती गइसकेको जस्तो देखिन्छ’, एक पूर्वअधिकारी भन्छन्,‘नीतिगत विषयमा, पीरमर्का र आगामी रणनीतिका विषयमा उनीसँग स्पष्ट खाका देखिँदैन।’

उनले अहिले नै आगामी अध्यक्ष शेखर गोल्छासँग मतभेदपूर्ण तर्क राख्न सुरु गरेका छन्। निसन्देह आगामी अध्यक्ष गोल्छासँग अहिले मतभेद राख्दा भोलीका दिनमा महासंघको सांगठनिक र सामूहिक विचारको भविष्य कस्तो होला? भनी धेरै उद्योगी व्यावसायीले टिकाटिप्पणी थालिसकेका छन्।

यता प्रधान भने संगठनको तल्लो इकाईदेखिकै अनुभवले खारिएर अगाडि बढेका हुन्। उनी उद्योग संगठन मोरङदेखि उद्योग वाणिज्य महासंघ पूर्वाञ्चलको नेतृत्व, महासंघकै कार्यकारिणी सदस्यका रुपमा अनेक पटक अनुभव सँगालीसकेका अनुभवी हुन्।

प्रतिक्रिया