खोप भएपनि भण्डारण गर्ने छैन ‘कोल्ड स्टोर’


सुर्खेत – कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखिएको छ । सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको हो ।

ती जिल्लामा खोप भण्डारणको समस्या भएकाले प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले तत्काल आवश्यक खोप मात्रै आपूर्ति गर्दै आएको छ । निर्देशनालयका अनुसार कर्णालीका हुम्ला, मुगु र डोल्पा जिल्लामा नेपालगञ्जस्थित क्षेत्रीय मेडिकल स्टोरबाट हवाइजहाज तथा बाँकी जिल्लामा स्थलमार्गबाटै खोप ढुवानीको व्यवस्था मिलाइएको छ ।

‘कर्णालीका धेरैजसो जिल्लामा खोप भण्डारणको समस्या छ, जसले गर्दा आवश्यक खोप एकै पटक पठाउन सकिएको छैन’, निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नोदनारायण चौधरीले भने, ‘भएका कोल्ड स्टोरमा पनि सबै खोप अट्न सक्ने क्षमता छैन । सुर्खेत, दैलेख, सल्यान र रुकुमपश्चिममा निर्देशनालयकै रेफ्रिजरेटर भ्यानले खोप ढुवानी गर्ने गरिएको छ ।’

पाँचौँ चरणको खोप अभियानअन्तर्गत हाल कर्णालीका सबै जिल्लामा भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप अभियान सञ्चालन भइरहेको छ । उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएका स्थानीय तहमा भेरोसेल खोप लगाउन थालिएको छ । ती क्षेत्रमा १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

कोल्ड स्टोरको समस्याले पटक–पटक खोप ढुवानी गर्नुपर्ने बाध्यता रहेको निर्देशनालयका कर्मचारी बताउँछन् । सुर्खेत, दैलेख, कालीकोट, सल्यान, जाजरकोट र रुकुम पश्चिममा जोन्सन एण्ड जोन्सन तथा बाँकी जिल्लामा भेरोसेल खोप लगाउन थालिएको हो । नियमित खोप कार्यक्रमका कारण कतिपय जिल्लामा कोरोना विरुद्धको खोप लगाउन ढिलाइ भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया