यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य सात निर्णय


काठमाडौं – सरकारले गृहसचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेसहित केही सचिवहरुको सरुवा गरेको हो । यसअघि पाण्डे भूमि व्यवस्था मन्त्रालयमा थिए । त्यस्तै मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ ।

त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् । प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ ।

यस्तंै सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि ०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको छ ।

यी हुन् सोमबारको बैठकमा मुख्य निर्णयहरु :
हेल्लो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासनिक समितिमा पठाउने निर्णय भएको छ ।

आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली, २०७८ छलफलका लागि मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि ०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको छ ।

बैठकले माथिल्लो त्रिशूली ए जलविद्युत् आयोजनाको जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलबहादुुर बोगटीलाई अधिकारी तोकेको छ ।

परराष्ट्र सेवा राजपत्रांकृत द्वितीय सेवाका उपसचिवहरू सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीको बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सैनिक सेवा चौथो संशोधन नियमावली, २०७८ छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

सहसचिव गोविन्दप्रसाद शर्माको बढुवा गरी कृषि मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया