यसपालि किशोर प्रधान, अर्कोपटक चन्द्र ढकालः महासंघ पूर्वअध्यक्षहरु


काठमाडौं– नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागी बर्तमान अध्यक्ष भवानी राणाले सहमतिका लागी सोमवार गरेको प्रयास असफल भएपछि महासंघका पुर्व अध्यक्षहरु सहमति नभए पछि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनमा जानु पर्नेमा जोड दिएका छन् ।

बिवादित छवी भएका पुर्व अध्यक्ष चण्डी ढकालको भरोसामा चुनाव लडेका चन्द्र ढकालले अधिकांस पुर्व अध्यक्ष र बर्तमान कार्यसमितीको साथ पाउन सकेनन् । बर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष शेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारका, पुर्व अध्यक्ष कुसकुमार जोशी, बिनोद बहादुर श्रेष्ठ, प्रदिपकुमार श्रेष्ठ, महेश लाल प्रधान, पद्य ज्योति मात्र होइन अन्तिमसम्म सहमतिको प्रयास गरेका रविभक्त श्रेष्ठ, सुरज बैद्य, आनन्दराज मुल्मीले समेत भावी अध्यक्ष शेखर गोल्छाको समुहबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका किशोर प्रधानको पक्षमा मत जाहेर गरेका छन् ।

‘किशोर प्रधान र चन्द्र ढकाल दुवै जना महासंघका लागि चाहिने ब्यक्ति हुन् । कोभिड–१९ महामारीका बेला सहमतिबाट सर्वसम्मत नेतृत्व चयन गरेको भए निकै राम्रो सन्देश जाने थियो तर त्यो सम्भावना सकिएपछि लोकतान्त्रिक बिधिबाट चुनावमा जाँदा यसपाली किशोर प्रधानलाई निर्वाचित गराउनुपर्छ,’ निर्वतमान अध्यक्ष पशुपति मुरारकाले आग्रह गरे । ‘अर्कोपटक हामी चन्द्र ढकाललाई पनि बरिष्ठ उपाध्यक्षमा मत जाहेर गर्न आग्रह गर्छौं,’ मुरारकाले भने ।

त्यस्तै अर्का पुर्व अध्यक्ष कुशकुमार जोशीले महासंघलाई कमाइ खाने पेशा बनाउने बिरुद्धमा भएको बताउँदै अघिल्लोपटक चुनाव हारेपछि महासंघबाट बिदा भएका प्रधानबिना महासंघ चलायमान नभएको बताए ।

त्यस्तै वर्तमान अध्यक्ष र भावी अध्यक्षले प्रधान र ढकाल दुवैजना महासंघलाई चाहिने मान्छे भएको बताउँदै यसपटक प्रधान र अर्कोपटक ढकाल भन्ने अवस्था आएको बताए । ‘महासंघको सुदृढीीकरण र शुद्धिकरणका लागि यसपाली किशोर दाई अर्को पटक चन्द्र ढकाल भन्नुपर्ने अवस्था आएको छ,’ दुवै जनाले एउटै भनाई राखे ।

किशोर प्रधानलाई प्रदेश नं १, २, बागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका अधिंकास जिल्ला नगरका जिल्ला अध्यक्षको समर्थन छ भने कर्णालीमा दुवै जनाको राम्रो रहेको देखिएको छ भने गृह प्रदेश अर्थात् गण्डकी प्रदेशमा भने ढकालको पक्षमा माहोल देखिएको छ ।

अधिकासं जिल्ला नगरका अध्यक्षहरु मङ्सीर १३ गतेबाट स्वतः अध्यक्ष बन्ने सेखर गोल्छाको पक्षमा देखिएपछि किशोर प्रधान बरिष्ठ उपाध्यक्षमा आउने पक्कापक्की जस्तै छ ।

प्रतिक्रिया