

यी हुन् अकुत सम्पत्ति थुपारी राज्यलाई कर नतिर्ने विवादास्पद व्यापारी, यस्तो छ शक्ति केन्द्रसँग कनेक्शन

काठमाडौं– राजनीतिक दलका मुख्य नेतानिकट रहेका व्यक्ति र सरकारमै सहभागी भएका राज्यमन्त्रीसम्मका विभिन्न विवादास्पद व्यापारीले राज्यलाई कर नबुझाएको विवरण सार्वजनिक सूचनामार्फत खुलासा भएको छ।
घरजग्गा सम्पत्ति कर समयमा नबुझाएपछि काठमाडौं महानगरपालिकाले ‘सार्वजनिक सूचना’ जारी गरी ३० दिनभित्र कर बुझाउन भन्दै उनीहरुको नाम प्रकाशित गरेको छ। जसमा नेपालमा चिसो पेय पदार्थको अर्बौंको कारोबार गर्ने बरुण बेभरेज प्रालिदेखि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको जनमैत्री अस्पतालसम्मको नाम समावेश छ।
५२ वटा विभिन्न कम्पनी र व्यक्तिका नाममा सूचना जारी गरी समयमा कर नतिरे कानुनबमोजिम कारबाहीको प्रक्रिया सुरु हुने महानगरपालिकाले जनाएको छ।
अकुत सम्पत्ति थुपारेका श्रेष्ठ, व्यापारी अजेयराज सुमार्गी, राप्रपा नेता उद्धब पौडेल सञ्चालित गोपीकृष्ण मुभिज प्रालि, हिमालय होटललगायत पनि कर नतिर्ने सूचीमा छन्।
महानगरपालिकाका अनुसार रविन्द्रबहादुर मल्ल, दिव्य शमशेर जबरा, नक्सालस्थित इम्पेरियल अपार्टमेन्ट, दरबारमार्गको कान्तिपुर होटल, लाजिम्पाटका शिशु अर्याल, भाटभटेनीको शुभकामना हाउजिङले कर तिरेका छैनन्।
यस्तै, चाबहिलको ओम सान इन्टरनेशनल कलेज, काठमाडौं जेसिस, खाद्य संस्थान, सिग्नेचर अपार्टमेन्ट, टेकुको अम्बे कम्प्लेक्सले पनि कर तिरेको छैन।
राजेन्द्रकुमार काबरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, सिद्धार्थ बनस्थली स्कुल, ब्याट्री कारखाना, होटल मस्र्याङदी, ह्वाइट फिल स्कुल, प्रदिपरत्न, उदयरत्न र विजयरत्न ताम्राकार, आदर्शनगर बिजनेश प्रालिले पनि कर तिरेको छैन।
कर नतिर्ने सबै व्यापारीको राजनीतिक शक्ति केन्द्रसँग अन्तरङ्ग सम्बन्ध छ भने उनीहरुको लगानीका आधारमा नै नेता पालिएका छन्।
यी मध्ये काठमाडौंका अधिकांश मुख्य ठाउँमा कम्प्लेक्स बनाएका सुमार्गीको कनेक्शन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकटा रहेको छ।
उमेश श्रेष्ठलाई त प्रधानमन्त्री शेरबहादुर देउवाले हालै मात्र स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन्। उनले सरकारी सुविधा नलिने घोषणा गरे पनि उनी सञ्चालित अस्पतालले कर तिरेको छैन।
रिद्धिसिद्धि डेभलपर्सचाहिँ नेपालमा सुनको कारोबार गर्ने ठूलो व्यापारी घराना हो जुन ३३ किलो सुन तस्करी काण्डका बेला छानबिनमा परेको थियो।
कस–कसले तिरेनन् कर? सूची हेर्नुहोस्।

