

सप्तरीमा ट्याङ्करको ठक्करबाट ६५ वर्षीया वृद्धाको मृत्यु

सप्तरी – सप्तरीमा ट्याङ्करले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिंदा बाराको कोतबाल गाउँपालिका ३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राति ८ बजे बसबाट ओर्लेर बाटो काट्ने क्रममा ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइते भएकी उनलाई उपचारका लागि युनिक अस्पताल रायपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । चालकलाई ट्याङ्करसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

