

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ । कोटेश्वरस्थित पार्टी कार्यालयमा केही बेर अघिबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
माओवादी केन्द्रका नेताहरूका अनुसार बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुनेछ ।
सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न गठित सत्तारूढ गठबन्धनको कार्यदलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री देउवा गठबन्धनको प्रतिवेदन आएपछि मात्र सरकार विस्तार गर्ने तयारीमा छन् ।
माओवादीमा मन्त्री बन्ने आकांक्षी नेताहरु धेरै भएपछि नेतृत्वलाई छान्न सकस परिरहेको छ । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिलेसम्म आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । पहिलो चरणमा काँग्रेसका दुई र माओवादीका २ जना मन्त्री नियुक्त गरेका प्रधानमन्त्री देउवाले दोस्रो पटक स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

