

प्रदेशसभा सदस्य बिमलाको बयान- ‘मुख्यमन्त्री निवासबाट ट्वाइलेटको चप्पल लगाएर भागें’

बुटवल – लुम्बिनी प्रदेशसभाकी सदस्य विमला वलीले आफू माओवादी केन्द्रमै रहेको बताएकी छिन् । बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी (बन्धक) बनाएर जबरजस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको बताएकी हुन् ।
आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिइ निरन्तर दबाब दिइएको उनले बताएकी छिन् । ‘मैले इन्कारी जारी राखें, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘यति मात्र नभई अर्को दुई तीन वटा माइन्युट जस्ता रजिस्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो ।’
त्यसपछि आफूले मुख्यमन्त्री निवासबाट उन्मुक्ति पाउने र बाहिर गएपछि सबै घटना सार्वजनिक गर्ने योजना बनाए पनि आफूलाई अझ कडाईका साथ मुख्यमन्त्री निवासमै राखिएको उनले बताइन् । २० गते बिहान आफूलाई असह्य पीडा भएको र यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपेर ट्वाइलेटको चप्पल लगाएर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको पनि उनले बताइन् ।

