

सानिमा लाइफको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामुहिक लगानी कोषलाई सुरक्षित गरेको छ । बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने छन् ।
उक्त कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र बढीमा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । उक्त आईपीओमा छिटोमा साउन २४ गते र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयर एनपी त्रिपल बि’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

