

इपिएलको चौंथो संस्करणमा काठमाडौंको कप्तानी सन्दीपले गर्ने

काठमाडौं – एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौंथो संस्करणमा काठमाडौं किंग्स ११ को कप्तानी युवा क्रिकेटर सन्दीप लामिछानेले गर्ने भएका छन् ।
काठमाडौंले सोमबार टिमको कप्तानको जिम्मेवारी लेग स्पिनर सन्दीपले सम्हाल्ने जनाकारी गराएको हो । इपिएलको तेस्रो संस्करण ललितपुर प्याट्रियट्सबाट खेलेका सन्दीप यसै सिजन काठमाडौंमा आवद्ध भएका हुन् ।
पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले पनि यो सिजनको इपिएल काठमाडौंबाट खेल्ने पक्का भइसकेको छ । सन्दीपले दोस्रोपटक फ्रेन्चाइज टिमको कप्तानी गर्दैछन् । यसअघि, उनले पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)मा विराटनगर टाइटन्सको कप्तानी गरेका थिए ।
६ फ्रेन्चाइज टोलीको सहभागिता रहने इपिएलको चौँथो संस्करण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज ९ देखि २३ सम्म हुनेछ ।

