

खोटाङवासीलाई उपचारका लागि २ लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता

खोटाङ – आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङवासीलाई रु कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँलगायत अन्य सुविधासम्पन्न अस्पताल लगेर उपचार गराउन परेकाले जिल्लावासीमा यस्तो बाध्यता आइलागेको हो ।
यही समस्याले खोटाङलाई ‘रु दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनिन थालेकाले जिल्लावासीले नेपाल सरकारसमक्ष निःशुल्क हेलिकप्टर सेवाको माग गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।
‘सङ्क्रमितले हेलिकप्टर चार्टर गर्नुपर्यो भने कम्तीमा पनि रू तीन लाख ५० हजारसम्म शुल्क तिरिरहनु परेको छ’, उनले भने, ‘सबैको हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था छैन । जिल्लाबाट सिफारिस भएर पठाइएका मध्ये र तत्काल उद्दार गर्नुपर्ने कोभिड सङ्क्रमित र अन्य आकस्मिक घटनाका बिरामीका लागि निःशुल्क हेलिकप्टर व्यवस्था गर्न सरकार समक्ष माग गरिएको हो ।’
दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्माका एक कोरोना सङ्क्रमितलाई शनिबार रु दुई लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ लगियो । सोही दिन बिहान वडा नं १ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा भर्ना भएर उपचार गराएका राई थरका उनलाई श्वासप्रश्वासमा समस्या देखिएकाले हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।
सङ्क्रमितको अहिले काठमाडौँस्थित अल्का अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उनका आफन्तले जनाएका छन् । उनीहरुकानुसार सङ्क्रमित राई आफै मोटरसाइकल चलाएर याम्खा आएपछि परीक्षण गर्दा उनीमा सङ्क्रमण पुष्टि भएर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ । उपचारकै क्रममा श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले हेलिकप्टर चार्टर गरेर राजधानी पठाएका गाउँ कार्यपालिका सदस्य अमृत गिरीले बताए ।
यसअघि गत असार २० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाकी ४४ वर्षीया सङ्क्रमितलाई सोही मूल्यमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बनाइएको आइसोलेशन सेन्टरमा भर्ना हुनु भएकी ती महिलामा अक्सिजन कम भएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको थियो ।
दश स्थानीय तह रहेको जिल्लामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा जटिल समस्या देखिए तत्काल अस्पताल पु¥याउन लाखौँ रकम खर्चिएर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । बिरामी बोक्ने एम्बुलेन्स वा अन्य सवारी साधनबाट छिटो पुग्न सम्भव नभएकाले सङ्क्रमित महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन् ।
केही दिनयता वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेकाले सडकबाट बिरामीलाई अस्पताल पुर्याउन सकस भएको छ । कतिपय तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्थाका बिरामी बोक्न हेलिकप्टर चार्टर गर्नुको विकल्प नभएको स्थानीयवासी बताउँछन् । गत जेठ ५ पछिमात्र कोरोना सङ्क्रमितलाई अस्पताल लैजान नौ पटक हेलिकप्टर चार्टर भइसकेका छन् । गत असार ८ मा ऐँसेलुखर्क गाउँपालिका-३ का ६० वर्षीय सङ्क्रमितलाई रु दुई लाख ९५ हजार तिरेर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो ।
यस्तै सङ्क्रमण भएपछि आइसोलेशनमा राखिएकी हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानकी एक महिलालाई जेठ २७ गते रु तीन लाख र ऐँसेलुखर्क गाउँपालिका-३ कै अर्की सङ्क्रमितलाई पनि जेठ १७ गते काठमाडौँ लैजान रु दुई लाख ९५ हजार खर्चनुपरेको थियो ।
जेठ ५ गते ऐँसेलुखर्क गाउँपालिका-३ का एकै परिवारका तीन सङ्क्रमितलाई रु तीन लाख २० हजार, १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का ७८ वर्षीया सङ्क्रमितलाई रु तीन लाख ५० हजार, जेठ १० गते दिक्तेलका ६४ वर्षीय एकजनालाई रु तीन लाख ५० हजारमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो ।
जिल्लामा अन्य किसिमका रोग लागेका बिरामी वा दुर्घटनाका घाइतेलाई काठमाडौँ लैजाने क्रममा पनि कम्तीमा रु दुई लाख खर्चेर हेलिकप्टर चार्टर गर्नु बाध्यता नै भएको छ । आर्थिक अवस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकप्टर चार्टर गरेर अस्पताल पुग्छन् तर बिपन्न परिवार उपचारबाट वञ्चित भइ ज्यान गुमाउन बाध्य भएको घटनासमेत सार्वजनिक भएका छन् ।
उक्त नगरपालिकाले जेठ १६ गते तत्कालीन प्रधानमन्त्रीसमक्ष निःशुल्क हेलिकप्टर सेवाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत प्रधानमन्त्री ओलीलाई पत्र पठाएको थियो । रासस

