देशभरका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर धिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १ का केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने मौसमविद सजिना शाक्यले जानकारी दिइन्। उनका अनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

पहाडी भू–भूगमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रतिक्रिया