

फेरि आयो मेलम्चीमा बाढी, रेडियो मेलम्चीको भवन बगायो
बासको खोजीमा स्थानीय डाँडाकाँडातर्फ लागे

मेलम्ची – सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । गत असार १ गते गएको बाढीले तहसनहस बनाएको बाढीले पुनः मेलम्ची बजारलाई निशानामा पारेको छ ।
बाढीबाट थप घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।
राती नै बाढी आउने संकेत देखिएपछि स्थानीयहरु सुरक्षित बासस्थानको खोजीमा डाँडाकाँडा तिर लागेको यसअघिको बाढीबाट पीडित बनेका स्थानीय एवं पत्रकार जगन्नाथ दुलालले बताए ।
लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको थियो । बाढीले अघिल्लो बाढीबाट बचेको रेडियो मेलम्चीको भवन बगाएको र रातो पुलको माथिबाट पानी बगेको देखिएको छ । त्यस्तै चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।
यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।
बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

