नेकपा विवादको पर्दा अगाडि उभिएका सुरेन्द्र पाण्डेः विरासत जोगाउन प्रचण्डका प्यादा!


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद चुलिएका बेला स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे विवादको पर्दा अगाडि उभिएका छन्।

उनलाई बरिष्ठ नेता माधवकुमार नेपालको समूहमा राखेर व्याख्या गरिन्छ। तर पछिल्ला समयमा उनी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका खास अधिकारीका रुपमा कार्यरत छन्।

यसको प्रमाण प्रचण्डले खाली रहेको अर्थ मन्त्रालयमा पाण्डेको नाम सिफारिस गर्नु थियो। जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरिदिए र महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिए।

प्रधानमन्त्री ओलीविरुद्ध पाण्डेका बयानबाजी आक्रामक बन्नुको एउटा कारण मन्त्रीमा नियुक्ति नगर्नु पनि हो। बाँकी समस्या समाधानका लागि बनेको कार्यदलका सदस्य पाण्डे किन विवादीत बयान र व्यवाहारका लागि तयार छन्?

‘प्रचण्डले सरकार परिवर्तन गर्नासाथ उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिने बचन दिएका छन्। अर्कोचाहिँ एउटै जिल्लाको राजनीतिक विरासत जोगाउन पनि पाण्डेले प्रचण्डको साथ छाड्न सक्ने छैनन्’, उच्च स्रोतले भन्यो,‘ओलीले अहिले नै उनलाई अर्थमन्त्री नियुक्त गरेका भए उनी यसरी विवादको अगाडि आउने थिएनन्।’

पाण्डेलाई नेकपाभित्र शालिन र सभ्य नेताका रुपमा चित्रण गरिएको थियो। तर केही दिनमा उनी अत्यन्तै विवादको घेरामा आए।

उनी विवादमा तानिनुको सिलसिला छन्। नेकपा नेतृत्वको विवाद उत्कर्षमा रहेको र पार्टी विभाजनको अवस्थामा पुग्ने बेला उनले एउटा अन्तरवार्ताका क्रममा ‘पार्टी फुटेर देश बर्बाद नहुने, सरकार परिवर्तन हुन सक्ने’ बताइदिए। यसबाट रुष्ट भए नेकपाका कार्यकर्ता। खासगरी ओलीनिकट र एकता नटुटोस् भन्ने स्थानीय तहसम्मका कार्यकर्ता।

यसैको बिम्बमा उनी सहभागी चितवनमा भएको एउटा कार्यक्रममा होहल्ला भयो। एकताविरोधी बयानबाजी दिएको अभियोग लाग्यो।

उनले सो भेलामा मदन भण्डारी फाउन्डेशनका माध्यबाट गुटको कार्यक्रम गरी विभाजनतिर ओली अघि बढेको मात्र भनेनन्, ओलीको खुलेर आलोचना गरे। त्यसको विरोधमा स्थानीय नेताको तर्क थियो,‘केन्द्रको विवाद जिल्लासम्म ल्याउन पाण्डे सक्रिय भए।’

यी विषयले चर्चा पाइरहेका बेला मिडियामा पाण्डेले भनिदिए,‘ओलीलाई बा भन्नेहरूको झुन्डले हो–हल्ला गरेको थियो।’ यो अभिव्यक्तिले उनी अझ विवादमा तानिए। 

ओलीलाई गुटको राजनीति गरेको, विधि र पद्दतीविरोधी काम गरेको अभियोग लगाइरहेका पाण्डे थप विवादमा आउनुको कारण हो, शनिबार पोखरामा आफूले तयार पारेको गुटको कार्यक्रममा सहभागी हुनु। जहाँ उनले ओलीविरोधी बयानबाजी गरेका विवरण सतहमा आइसकेका छन्।

‘पाण्डेको छवि अत्यन्तै सुकिलो थियो। दोस्रो पुस्तामा नेतृत्वको सम्भावना बोकेका व्यक्ति थिए। तर उनी प्रचण्डका प्यादाका रुपमा परिचालित हुन थाले’, एक स्थायी समिति सदस्य भन्छन्,‘अहिले दोस्रो पुस्ताका नेताको काम दुई अध्यक्षलाई सहमतिको विन्दुमा उभ्याउने हो, गुट भेला गर्ने र खुइल्याउने होइन।’

पहिलो पटक अर्थमन्त्री हुँदा ज्यादै सबल काम गरी चर्चा कमाएका र तत्कालिन एमाले स्थायी समितिमा समेत सकारात्मक प्रतिक्रिया पाउने पाण्डे अहिले नेकपाको विवादमा भने पक्षपाती रुपमा आलोचित हुन थालेका छन्।

प्रतिक्रिया