‘नेपालीहरुको मेहनती र इमान्दारिताबाट कोरियाली रोजगारदाता खुशी छन्’


काठमाडौं – नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले नेपालीहरुको मेहनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको बताएका छन् ।

बुधवार राजदूत सुकले अर्थमन्त्री जनार्दन शर्मासँगको शिष्टाचार भेटमा यस्तो बताएका हुन् । सोही क्रममा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरे ।

जवाफमा राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिएका थिए। भेटका क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे। उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे।

कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिटेक्निक कलेजको स्थापना गर्दैछ । उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।

मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोशिस गरिने बताए ।

प्रतिक्रिया