
ललिता निवास प्रकरणको एउटा रिटको सुनुवाई आजः पूर्वप्रधानमन्त्री नेपाललाई मुद्दा लगाउने कि नलगाउने?
काठमाडौं– बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको पनि संलग्नता रहेको र कारबाही हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आइतबार गरिने भएको छ।
ललिता निवास जग्गा हिनामिनामा नेकपा बरिष्ठ नेता नेपालविरुद्ध पनि मुद्दा दायर गर्नुपर्ने माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनुवाई आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासले गर्न लागेको हो।
पूर्वउपप्रधानमन्त्री बिजयकुमार गच्छादारसहित अनुसन्धानको दायरामा तानिएका बेला नेपालविरुद्ध छानबिन गर्ने कि नगर्ने भन्ने विषयको छिनोफानो सर्वोच्चले गर्नेछ। अनुसन्धानका लागि अनुमति दिएको खण्डमा नेता नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नेछ।
२९ माघ २०७६ मा न्यौपानेले नेपाललाई मुद्दा दायर नगरेकोमा अख्तियार र महान्यायाधीवक्ता कार्यालयलाई पनि विपक्षी बनाई रिट दायर गरेका थिए । भट्टराई नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने निर्णयबिरुद्ध अन्तरिम आदेश दिने न्यायधीश हुन्।
सर्वोच्चले अग्राधिकार दिएर नेपालविरुद्धको रिटलाई सुनुवाई गर्ने सम्बन्धमा राजनीतिक वृत्तमा फरक किसिमको चर्चा सुरु भएको छ।



कागजपत्र |
