

ओलीलाई सम्झाएको कानुन कांग्रेस नेता थापाले प्रधानमन्त्री देउवालाई किन स्मरण गराएनन्?

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशिष्ट व्यक्तिलाई स्वास्थ्य उपचार खर्च राज्य कोषबाट दिने विषयको कार्यविधि र कानुन सम्झाएका थिए। ओली सरकारले एमाले नेता झलनाथ खनालको उपचार खर्च व्यहोर्ने भएपछि लामो विवरणसहित कार्यविधि र कानुन सम्झाएका थिए।
तर उही कानुन आफ्ना दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भने उनले स्मरण गराएका छैनन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारबाट नयाँ दिल्लीमा उपचार गराईरहेका उनै खनाललाई अस्पतालको खर्च सरकारले व्यहोर्ने देउवाको घोषणामा भने थापा मौन बसेका छन्।
यसअघि ओलीलाई थापाले उक्त कार्यविधिबारे सम्झाएका थिए। उनले लेखेका थिए,‘उच्च ओहदामा बसेकाहरुले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रिपरिषदले निर्णय गर्ने प्रचलन थियो। यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्यौं। र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ। तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन।’
उनले सामाजिक सञ्जाल फेसबुकमा लामो व्यहोरा लेख्दै भनेका थिए,‘कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने संशोधन प्रस्ताव राखें।’
थापाले सदनमा उक्त प्रस्ताव स्वीकार गरेको जनाउँदै अगाडि जोडेका थिए,‘यो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५–६–२ गतेदेखि लागु भयो। कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन।’
उनले उक्त प्रसङ्गसँगै देउवामाथि भने प्रश्न गरेका छैनन्। ओलीलाई भने ‘प्रधानमन्त्रीज्यू अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?’ भनेर सोधेका थिए।

