

यस्तो रहेछ एमाले उपाध्यक्ष भिम रावलले सांसद पदबाट राजीनामा दिनुको गुह्य कारण

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई विश्वासको मत दिनुअघि प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका एमाले उपाध्यक्ष भिम रावलले आफ्ना अछामी जनतासँग माफी मागेका छन्।
उनले ५ बर्षका लागि दिइएको उक्त म्यान्डेड राजनीतिक रुपमा अनैतिक खेल भएका कारणले पूरा गर्न नसकेको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन्।
रावलले सामाजिक सञ्जालमा पूरा कारण नखुलाए पनि उनले राजीनामा दिनुको महत्वपूर्ण रहस्य खुलासा भएको छ। अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउने सर्तमा देउवा सरकारले विश्वासको मत पाउने देखेपछि रावलले राजीनामा दिएको खुलेको छ।
उच्च स्रोतका अनुसार देउवासँग रहेको गठबन्धनमा एमसीसी पास गराउने सहमति बनेको थियो। उक्त सहमति कार्यान्वयन गर्दा मुलुकलाई नोक्सान हुने भन्दै रावलले राजीनामा दिएका हुन्। रावल सँधैभरी एमसीसीको विरोधमा उत्रिएका नेता हुन्।
ओली सरकारले उक्त प्रस्ताव सदनमा लैजाने विषयमा पनि रावलको आपत्ति रहँदै आएको थियो। जसका कारण उनलाई सत्ता पक्ष भएर पनि तत्कालिन सरकारमा प्रतिपक्षी नेताका रुपमा व्याख्या गरिँदै आएको थियो।
गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता परिमार्जनसहित पारित हुने बताएका थिए। तर, रावल परिमार्जनमा पनि सहमत छैनन्।
उच्च स्रोतले भन्यो,‘परिमार्जन भन्ने कुरा त्यसमा हुँदैन, देउवा सरकार त्यसमा लम्पसार पर्दा केपी शर्मा ओली हटाउने मुद्दामा प्रचण्ड पनि एमसीसीसँग सहमत भएपछि रावलले सांसद पदबाट राजीनामा दिनुभएको हो।’

