

एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ: रामकुमारी झाँक्री

काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन्। प्रधानमन्त्रीलाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको उनले बताइन्।
आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी भएपछि सामाजिक सञ्जालमा लेख्दै उनले सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी हुन्।
उनले ७६ (५) को प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई समर्थन गरेको भन्दै उनले १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगेको स्मरण गरेकी छन्।
‘अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ,’ उनले भनेकी छन् ।
त्यस्तै उनले त्यसो गर्न नसकिए सांसदहरूलाई संसदको पूरा कार्यकाल सञ्चालन गर्न सबैले विवेक प्रयोग गरी पक्षमा भोट हाल्न आह्वान गरेकी छन्। ‘यदि त्यो पनि भएन भने हामी २३ जना निवेदनकर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ,’ उनको भनाइ छ।

