

वीर अस्पतालमा स्वास्थ्य सचिव अर्यालको आतंक
अस्पताल प्रमुख गाैतमकै 'पार्टनर'को कम्पनीलाई ठेक्का दिइ कराेडाैं अनियमितता

काठमाडौं – पछिल्ला दिनमा देशकै पुरानो र ठुलो वीर अस्पतालमा भ्रष्टाचार र अनियमितताका समाचारहरु बाहिरिइरहेको बेला स्वास्थ्य सचिव लक्ष्मण अर्यालले पुनः आतंक सिर्जना गरेका छन् । अर्यालले मेडिकल माफियाको चाहाना बमोजिम कोभिड–१९ को नाममा हुने उपकरण खरिद र कर्मचारी भर्नामा आफू अनुकुल व्यक्ति एवं संस्थालाई नियुक्ति, टेण्डर र ठेक्का पट्टा दिने गरेको थाहा हुन आएको छ ।
सचिव अर्यालले स्वायत्त रुपमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको ऐन विपरीत कोभिड–१९ अध्यादेश जारी गरी सो मार्फत विभिन्न अनियमितता गरेको जनाइएको छ । गत जेठ ६ गते जारी भएको अध्यादेशका आधारमा वीर अस्पताललाई प्रतिष्ठानको मातहतबाट अलग गरि स्वास्थ्य मन्त्रालय मातहत राखि अस्पताल अस्पतालको प्रमुखमा विवादिन व्यक्तिलाई नियुक्ति दिएका छन् ।
स्वास्थ्य क्षेत्रमै सर्वाधिक विवादित र अदालतले किर्ते मुद्दामा दोषी ठहर गरी जरिवाना तिराएका र मन्त्रालयको कारबाहीमा परी ग्रेड घटुवामा परेका डा. जागेश्वर गौतमलाई अर्यालकै बलबुतामा अस्पताल प्रमुखमा नियुक्ति दिइएको जनाइएको छ । गौतमकै नेतृत्वमा वीर अस्पतालले सरकारी कर्मचारी भएर पनि विभिन्न अस्पताललगायत उद्योगमा अरबौंको शेयर रहेका गौतमकै व्यापारिक साझेदार सुन्दर भुषालको म्याक्सिम भन्ने सर्जिकल सामान सप्लाई गर्ने फर्मलाई तिन दिनको समय दिएर २५ करोड को ठेक्का दिलाएर अर्को अनियमिमता गरेका छन् । टेन्डर मिलाउनका लागि गौतमले विभिन्न अनियमिततामा संलग्न रहेर टिचिङ अस्पतारबाट कारबाही गरिएकी र म्याक्सिम ट्रेड मै काम गर्ने भावना बराललाई वीर अस्पताल मै नियुक्ति दिइएको जनाइएको छ ।
‘गौतमकै साझेदार भुषालको स्वामित्व रहेको म्याक्सिमसँग सचिव अर्यालले करोडौ कमिसन लिई सकेका छन्,’ नाम नखुलाउने शर्तमा एक सर्जिकल सप्लाएर्स बताउँछन् । सचिव अर्यालले गौतम, अहेव नवराज श्रेष्ठ, अग्निधर बस्याल, डा. अच्चुत कार्की मार्फत वीर अस्पतालको नयाँ भवनलाई आवश्यक कर्मचारी भर्नाबापत प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म उठाउँदै निवेदन संकलन गरिरहेको जनाइएको छ । त्यस्तै कर्मचारी समायोजनमा वीर अस्पतालबाट बाहिर सरुवा भएकासँग पैसा लिने गरेको पनि सुनिँदै आएको छ । त्यस्तै अहेव अग्निधरमार्फत मेडिकलबोर्डको सिफारिश बनाउनका लागि समेत सचिव अर्यालले कमिसन माग्ने गरेको वीर अस्पताल प्रसासनकै कर्मचारी बताउँछन् ।
कोभिडबिरुद्ध भ्याक्सिन कार्यक्रम भैरहँदा वीर अस्पतालमा भ्याक्सिनेटर अहेव नवराज श्रेष्ठ, डा. अच्चुत कार्कीको समुहले आफुलाई स्वास्थ्य सचिव र अख्तियार प्रमुखको मान्छे भन्दै प्रतिव्यक्ति ५ हजार रुपैयाँ लिँदै खोप लगाइदिएको जनाइएको छ । उनीहरु यसअघि पनि नेपाली नागरिकलाई मात्र आएको खोप विदेशी व्यक्तिहरुलाई महंगो मूल्य लिँदै बेचेको भन्ने विवादमा पनि मुछिएपछि मन्त्रालयबाट कारबाहीमा परेका थिए ।
तर, सचिवको संरक्षणमा उनीहरु पुनः वीर अस्पतालमा भ्याक्सिनको जिम्मेवारीका रुपमा रहेका छन् । अहेब श्रेष्ठले विभिन्न बिरामीहरुलाई वीर अस्पतालमा उपचार नहुने भन्दै विभिन्न निजी अस्पतालमा सिफारिस गर्दै आउने गरेका छन् । त्यस्तै सचिव अर्यालको आडमा सबै कर्मचारीलाई त्रास देखाउँदै धम्क्याउँदै अन्य कर्मचारीको बारेमा झुठो उजुरी दिँदै आफ्नो अनियमितता लुकाउने प्रयास गरिरहेको पनि जनाइएको छ ।
अहेव अग्निधरले मेडिकलमा विरामी प्रमाणित गर्दा विदेश जाने, सुरक्षा निकायका मानिसहरुलाई बिरामी देखाएर जागिर छोड्नेहरुसँग दुइ लाखसम्म लिँदै बोर्डको सिफारिश बनाउने गरेको निर्देशक कार्यालय स्रोतले जनायो । अहिले उनीहरुले आफ्ना विपक्षमा रहेका कर्मचारीलाई धम्क्याउने, आफू निकटलाई टेण्डर पार्ने भन्दै वीर प्रशासन, कानुन र लेखा शाखालाई दवाव दिने गरेको पनि प्रशासनका एक उच्च कर्मचारीले बताए । उनीहरुलाई सम्बन्धित निकायले तत्काल कारबाही नगरेमा वीर अस्पतालमा ठूलो अनियमितता र अस्पताल नै बिरामी पर्ने कुरामा कुनै द्विविधा नभएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

