

एमाले स्थायी कमिटी बैठकमा भिम रावलको नेतृत्वमा नेपाल पक्षका ६ नेता जाने, के प्रस्ताव गर्दैछन्?

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल पक्षका ६ जना नेता सहभागी हुने भएका छन्। उपाध्यक्ष भिम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भिम आचार्य, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुने भएका हुन्।
एमाले एकीकरणका लागि नेपाल पक्षबाट कार्यदलमा १० बुँदे सहमति जुटाएका नेताले त्यसमा थपघट गर्न सकिने तथा पार्टी एक ढिक्का राख्नका लागि थप प्रस्ताव गर्न सकिने विषयमा कुराकानी गर्ने स्रोतले जनाएको छ।
नेता नेपालले सहमतिका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि दिएको हस्ताक्षर फिर्ताको विषय उठाउन नमिल्ने मात्र नभएर त्यो विषय नै जोड्न नपर्ने सर्त अघि सारेका थिए। उक्त विषय पनि स्थायी कमिटीमा रावल नेतृत्वका ६ जनाले राख्ने बताइएको छ।
यद्यपि, यस विषयलाई अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गर्न नसक्ने बताइन्छ। रावललगायतका नेताले एमालेको विकल्पमा देउवालाई प्रधानमन्त्री पदमा विश्वासको मत दिन नसकिने पनि बताउँदै आएका थिए।

