

नेपाली सेनाको व्यवस्थापनमा कोरोना खोप केन्द्र सञ्चालन

काठमाडौं — नेपाली सेनाको व्यवस्थापनमा राधास्वामी सत्संग व्यास नेपाल टोखामा कोरोना खोप केन्द्र सञ्चालनमा आएको छ । सरकारले असार ३० देखि साउन २ गतेसम्म कोरोना खोप लगाउने मिति तय गरेसँगै नेपाली सेनाको व्यवस्थापनमा टोखा नगरपालिका–१० सामाखुशीस्थित राधास्वामी सत्संग व्यास नेपालको भवनमा बुधबारदेखि कोरोना खोप केन्द्र सञ्चालनमा ल्याइएको हो ।
राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी केन्द्रका क्लिनिकल रजिष्ट्रर महासेनानी डा सुमनराज डङ्गोलले सेनाको व्यवस्थापनमा वीरेन्द्र सैनिक अस्पतालका साथसाथै राधास्वामी भवनमा कोभिड खोप केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।
बुधबारदेखि शुरु भएको खोप केन्द्रमा ५५ वर्ष वा सोभन्दामाथि उमेरका सबै नागरिक, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा कार्यरत खोप लाउन छुट भएका व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकले खोप लगाउन पाउनेछन् । बुधबार ८४८ जनाले खोप लगाएको उक्त केन्द्रमा आज ८०० जनालाई खोप लगाउने कार्यक्रम रहेको डा डङ्गोलले बताए ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा जेठ ८ गतेदेखि सञ्चालनमा ल्याइएको उक्त राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी केन्द्रमा हाल १८२ कोरोना सङ्क्रमितले उपचार गरेर घर फर्किसकेका छन् । अक्सिजनसहित ८८ श्यया र अक्सिजनविनाको ९६ श्यया रहेको उक्त आइसोलेसन केन्द्रमा अहिले ३७ जनाले कोरोना सङ्क्रमितले उपचार गराइरहेका केन्द्रका कन्सल्टेन्ट फेमिली फिजिसियन डा विश्वराज दवाडीले राससलाई जानकारी दिए ।
उक्त आइसोलेशन केन्द्रमा बस्ने बिरामी तथा बिरामीको उपचारमा खट्ने चिकित्सकको निःशुल्क खानाको व्यवस्था भने राधास्वामी सत्संग व्यास नेपालले मिलाएको छ । उक्त राधास्वी संस्थाले बिरामीका लागि दैनिक झोल पदार्थसहित छ पटक खानेकुरा खुवाउँदै आएको छ ।
कोरोना सङ्क्रमित भएर घरमा बस्न अप्ठ्यारो परेका वा आर्थिक अवस्था कमजोर भएका जो कोही बिरामी पनि उपचारका लागि उक्त केन्द्रमा जान पाउनेछन् । उक्त आइसोलेशन केन्द्रमा दुई जना कन्सल्टेन्ट डाक्टर, आठ जना मेडिकल अफिसर, छ जना विएन नर्स, ३४ जना स्टाफ नर्र्स र २४ जना हेल्थ एटेण्डेन्ट करारमा कार्यरत छन् ।

