जब ऐतिहासिक सभामै गिरीजाबाबुले प्रचण्डलाई टेरोरिष्ट अर्थात् आतंकवादी भनिदिए…


काठमाडौं– नेपालमा चलेको हिंसात्मक राजनीतिक द्वन्द्वको औपचारिक अन्त्यको कागजी दस्ताबेज हो– शान्ति सम्झौता। तत्कालिन सरकार र नेकपा माओवादीबीच भएको सम्झौताले नै गणतन्त्रको अहिलेको अवस्थाको परिकल्पना गरेको थियो। खासगरी संविधानसभा निर्वाचन र गणतन्त्र घोषणा, संघीयताको यो यात्रासम्म आउने मूल विन्दु ५ मंसिर २०६३ मा भएको शान्ति सम्झौता नै थियो।

ठ्याक्कै १४ बर्ष पुगेको छ। तत्कालिन शाही शासनलाई अन्त्य गर्नका लागि भारतको नयाँदिल्लीमा भएको सात दल र माओवादीबीचको १२ बुँदे समझदारीको पृष्ठभूमीमा जनआन्दोलन र शान्ति सम्झौता भएको थियो।

उक्त सम्झौताका लागि तत्कालिन सात दलका तर्फबाट सरकारमा समेत नेतृत्व गरेका कांग्रेस सभापति प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला (गिरीजाबाबु)ले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईलाई हेलिकोप्टरमा रोल्पाबाट बालुवाटार झिकाएका थिए।

एउटा युग परिवर्तनका निम्ति शान्ति सम्झौतामा हस्ताक्षर गर्ने निर्णय भईसकेको थियो। तत्कालिन सरकार प्रमुख रहेका प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीबीचको शान्ति सम्झौता हस्ताक्षर कार्यक्रममा राष्ट्रिय सभामा अनेक व्यक्तित्व र कुटनीतिक नियोगका अधिकारीहरूको व्यापक उपस्थिति थियो।

एउटा फरक ओजका साथ नेकपा माओवादीको नेतृत्व गरी प्रचण्ड एकातिर र अर्कातिर सात दलीय गठजोडको नेतृत्व गरेका गिरीजाप्रसाद कोइरालाले हस्ताक्षर गरेपछि गडरर्र ताली बज्यो। सोही क्रममा विचार राख्दा गिरीजाबाबुले एउटा सफल अवतरण भएको बताए। ठट्यौली पारामा उनले प्रचण्डबारे बोल्दै गर्दा भनेका थिए,‘तपाईहरू टरोरिष्ट कस्तो हुन्छ? के पो हुन्छ भन्नुहुन्थ्यो। प्रचण्डजीलाई हेर्नुस्। उहाँ पनि मान्छे नै हो। हामी जस्तै नै हो।’

कोइरालाको भाषण सकिएपछि माइक पाएका प्रचण्डले पनि शान्ति सम्झौता ऐतिहासिक परिवर्तनको दस्ताबेज भएको बताएका थिए। सोही क्रममा गिरीजाबाबुले मजाक गरी भनेको ‘टेरोरिष्ट’बारे उनले प्रत्युत्तर दिएका थिए,‘गिरीजाबाबु टेरोरिष्टैचाहिँ नभन्दिएको भए हुन्थ्यो।’ फेरि हल मजाले गुञ्जियो।

प्रतिक्रिया