

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्चको आदेश आज के आउला ?

काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासले आज आदेश सुनाउने भएको छ। गत साता नै बहस सकिएको थियो।
प्रतिनिधि सभा पुनःस्थापना, विघटन वा मध्यमार्गी आदेश आउन सक्ने प्रक्षेपण गरिएको थियो। नेपाली कांग्रेसलगायतको विपक्षी गठनबन्धनका तर्फबाट भने पुनःस्थापनासहित शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरिएको थियो।
तर सर्वोच्चमा भएका बहस, दलील र दाबीबीच तीन विषयमा उसको ध्यान केन्द्रित हुन सक्ने अनुमान गरिएको हो।
पहिलो, विपक्षी गठबन्धनले माग गरेअनुसार प्रतिनिधि सभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी हुन सक्छ। दोस्रोचाहिँ, विघटन सदर गर्दै चुनावमा जाने बाटो खुलाउन सक्छ।
धेरैले अनुमान गरेको तथा संवैधानिक इजलासले बारम्बार संकेत गरेको हिसाबमा तेस्रो वैकल्पिक आदेश आउन सक्ने अड्कल गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६(३)को प्रधानमन्त्री भएकाले त्यस धाराको परिक्षण नगरी ७६(५)मा पुग्नुअगाडि संसद विघटन गरेका कारण सर्वोच्चले मध्यमार्गी आदेश दिन सक्ने बताइन्छ।
त्यो भनेको प्रतिनिधि सभा विघटन हुन नसक्ने भन्दै संविधानको धारा ७६(४)को परिक्षण अनिवार्य गरी र गराई अगाडि बढ्नका लागि आदेश आउन सक्ने अनुमान गरिएको छ।
विभिन्न कोणबाट आउने आदेशबारे प्रक्षेपण चरिहेका छन्। राजनीतिक दलदेखि सबैको नजर आज सर्वोच्च अदालतको आदेशतिर अड्किएको छ।

