

अमेरिकी जोन्सन एण्ड जोन्सन खोप काठमाडौं आइपुग्यो

काठमाडौं – अमेरिकी सरकारले उपलब्ध गराएको कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ। केहीबेर अघि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप पठाएको हो। खोपबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराइँदैछ।
नेपालले यस अघिदेखि नै अमेरिकालाई खोप सहयोगको लागि आग्रह गर्दै आइरहेको थियो। साथै, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन्।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका थिए।
एक डोज मात्र लगाए पुग्ने उक्त खोप नेपाल आए पछि कुन समूहलाई लगाउने बारेमा यकिन नभए पनि सोमबार वा मंगलबारसम्म निर्णय गरी बुधबारबाट भने लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
क–कसलाई खोप लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भनिए पनि खोप कसले पाउने भनेर अझै टुंगो भइनसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पहिलो प्राथमिकता चाहिँ ६० वर्षभन्दा माथिलाई हुन्छ।

