सिंहदरबारमा एमाले कार्यदल बैठक सुरु, सहमतिको दस्ताबेज स्थायी कमिटीबाट पास गरेर सार्वजनिक गर्ने तयारी


काठमाडौं – नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा सुरु भएको छ । विहान ८ बजेका बैठक बस्ने भनिएपनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा लागेपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो ।

नेकपा एमालेको कार्यदलको बैठकले एमालेभित्रको विवाद समाधान गरेर आज सार्वजनिक गर्ने तयारी गरेको छ । शनिवारको बैठकबाट सहमतिको अन्तिम टुङ्गो लागेको सहमतिको दस्ताबेजलाई आज दिउँसो स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने तयारी रहेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।

शनिवार बसेको बैठकबाट नेताहरूले सहमति जुटिसकेको र आइतबार बिहान बैठक बसेर औपचारिकरूप दिने बताएका थिए । नेकपा कार्यदलले लगातार बैठक बसी आन्तरिक द्वन्दलाई चिर्दै सहमतिको बिन्दुमा पुगेको सङ्केत गर्दै आइरहेको छ ।

कार्यदलका सदस्यहरू अहिले आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अहिले वीर अस्पतालको सर्जिकल भवन उद्घाटन कार्यक्रममा सहभागी भएका छन् ।

कार्यदलले जुटाएको सहमति पत्रमा आजै हस्ताक्षर गरी स्थायी कमिटी बैठकमा पेस गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । आज दिउँसो बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गरी आजै सार्वजनिक गर्ने तयारी भएको छ ।

भोलि सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दाको फैसला सुनाउने तयारी गरेको छ । त्यस अघि एमालेले पार्टी एकताको सन्देश दिने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ पूरा गरी हेर्दा हेर्दैमा राखेर सर्वोच्चले यसअघि नै २८ गते पेशी तोकेको छ । सर्वोच्चको फैसला जे आए पनि पार्टी एक भएमा त्यसको खासै असर नपर्ने एमालेका नेताहरूको बुझाई छ ।

प्रतिक्रिया