

चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं – चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ।
चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो। खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघन्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ।
पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप लिन बेइजिङ जाने तालिका छ। चीनबाट ल्याइने भोरोसेल खोपको पहिलो डोज ५५ वर्षमाथिका नागरिकलाई दिइने भएको छ।
नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज खोप आएको छ । आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्रा लगाइएको छ।

