दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले गरे प्रहरी समक्ष आत्मसमर्पण


काठमाडौं – दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले अदालतको मानहानीका लागि जेल सजाय भोग्न प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनको फाउन्डेसनले जनाएको छ ।

दिनको अन्त्यसम्ममा आत्मसमर्पण नगरे ७९ वर्षका पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो । अदालती सुनुवाइमा उपस्थित हुन नसकेका कारण जुमालाई गत हप्ता १५ महिना लामो जेल सजाय सुनाइएको थियो ।

आइतवार आत्मसमर्पण गर्न अस्वीकार गरेपछि जुमालाई निश्चित समय उपलब्ध गराइएको थियो । ‘राष्ट्रपति जुमाले पक्राउ आदेशको पालना गर्ने निर्णय गरेका छन्’, उनको फाउन्डेसनले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ ।

उनकी छोरीले त्यसको केही समयपछि सामाजिक सञ्जाल ट्विटरमा आफ्ना पिता ‘बाटोमा रहेको (जेल जानका लागि) र उनमा अझै पनि उच्च आत्मबल रहेको’ भन्दै पोस्ट गरेकी थिइन् । दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक हो ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

उनको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ। तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन् । सन् २०१८ मा उनलाई आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेको भए पनि समर्थकहरूको एउटा पक्षलाई आफूसँगै राख्न उनी सफल भएका थिए । बीबीसी

प्रतिक्रिया