ओली र नेपालबीच होटल मेरियटमा भेटबार्ता
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ ।
नेकपा एमालेको विवाद समाधानका लागि बार्ता गर्न पार्टी अध्यक्ष ओली र नेता नेपाल नक्सालस्थित होटल मेरियट पुगेका हुन् ।
यसअघि पनि दुई चरणमा होटल मेरियटमा नै ओली(नेपाल बीच वार्ता भइसकेको छ। तर उक्त वार्ताले समाधान निकाल्न सकेको थिएन। यो पटकको वार्तामा दुई नेताबीच सहमतिको मस्यौदाको अन्तिम टुंगो लगाइने बताइएको छ।
आज दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकले सहमतिको बिन्दु करिब भेट्टाएपछि दुई नेताबीच आजै वार्ता भएको हो। ओलीसँग वार्ताका लागि वरिष्ठ नेता नेपाल कोटेश्वरबाट होटल मेरियट पुगेका थिए।
कार्यदलका दुवैतर्फका नेताहरुले सहमति जुटिसकेकाले भोलिसम्म ओली र नेपालले सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने बताइएको थियो।