
७६ बर्षको यात्रामा पूर्वराजा ज्ञानेन्द्र, निर्मल निवासमा छैन उत्सव
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह बुधबारदेखि ७६ बर्ष लागेका छन्। २३ साउन २००३ मा जन्मिएका पूर्वराजाले आफ्नो जन्मोत्सवका अवसरमा भने कुनै उत्सव नगर्ने यसअघि नै घोषणा गरेका थिए।
निर्मल निवासमा परिवारका सदस्यसँग सामान्य हिसाबले शुभकामना आदान प्रदानमा मात्रै सीमित हुने निर्मल निवासले जनाएको छ। हरेक बर्ष जन्मोत्सव मनाउने पूर्वराजाले देशमा कोरोना महामारी, प्राकृतिक प्रकोपका कारण जनता आहतमा रहेका कारण जन्मोत्सव नमनाउने पूर्वजानकारी दिएका थिए।
एक वक्तव्य जारी गरी उनले जन्मोत्सव नमनाउने घोषणा गरेका थिए। उनी आफैं पनि कोरोना भाइरस संक्रमण भई स्वास्थ्य लाभ गरेका व्यक्ति हुन्। उनको स्वास्थ्य सुधारसहित राम्रो रहेको जानकारी दिएका थिए।
ज्ञानेन्द्रले जन्मोत्सव पूर्वरानी कोमल, छोरा पारस शाह र नाती हृदयेन्द्रलगायत परिवारका केही सदस्यसँग निर्मल निवासमा सामान्य हिसाबले मनाउने भएका छन्।
यसअघि भने उनको जन्मोत्सवमा तामझाम गरिन्थ्यो।



कागजपत्र |
