कांग्रेस महाधिवेशनः सिटौलाले बोलाएको भेलामा किन गएनन् गगन र प्रदिप?


काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको रणनीतिका लागि आफ्ना समूहका भेला बैठक जारी रहेका छन्।

यहि क्रममा मंगलबार कृष्ण सिटौलाले पनि आफ्नो समूहको भेला डाकेका थिए, अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा। तर, उनको भेलामा उनीनिकट मानिएका युवा नेताहरु ग्गन थापा र प्रदिप पौडेल भने उपस्थित भएनन्।

‘बार्गेनिङ’ धारका रुपमा चिनिएका सिटौलाको समूहमा थापा र पौडेल किन गएनन्?

कांग्रेस स्रोतका अनुसार थापा डा. शेखर कोइराला समूहबाट महामन्त्री पदका लागि उम्मेदवार बन्ने छलफलमा छन्। यसै कारण पनि कोइरालासँगै थापा बरिष्ठ नेता रामचन्द्र पौडेलसँगको छलफलमा बसेका थिए।

पौडेल भने कोइराला समूहबाट नै सह–महामन्त्रीको उम्मेदवारी दिने तयारीमा रहेको बताइन्छ। यसअघि १३ औं महाधिवेशनमा थापा सिटौला समूहबाट महामन्त्रीमा लडेका थिए। पराजित भए पनि दोस्रो राउन्डमा सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई सहयोग गरेका थिए।

उक्त सहयोग गरेका कारण सिटौलाले सरकारमा एउटा मन्त्रीको भागबन्डा पाउँदा थापालाई स्वास्थ्य मन्त्रालय पठाएका थिए। तर १४ औं महाधिवेशनमा समीकरण फेरबदलका क्रम चलिरहेका कारण थापाले पनि सिटौला समूहमा रहने त्यति धेरै चासो देखाएका छैनन् भने पौडेल रामचन्द्र समूह हुँदै बीचमा सिटौला समूहमा थिए।

उता कांग्रेसमा यस पटक समूहको फेरबदलले नयाँ परिणाम आउने पनि प्रक्षेपण गरिएको छ। देउवा क्याम्पमा रहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको एउटा समीकरण तयार भइसकेको छ।

प्रतिक्रिया