

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई आफूखुसी नम्बर दिने र प्रश्नपत्र बाहिर्याने २ जना उपप्राध्यापक बर्खास्त

सर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ।
ईञ्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरिएको हो। यादवमाथि आफूखुशी विद्यार्थीलाई नम्बर दिएको आरोपमा बर्खास्त गरिएको हो भने पन्तलाई प्रश्नपत्र बाहिर्याएको भन्दै बर्खास्त गरिएको छ।
उपप्राध्यापक यादवले विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले नम्बर नदिएर आफूले मनलाग्दोरुपमा नम्बर दिएको उजुरी परेको थियो । स्ट्रकचरल ईञ्जिनियरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापकले आफूखुसी नम्बर दिएको पाइएको उक्त छानविन समितिको भनाइ छ।
अक्षम्य शैक्षिक अपराध गरेकाले उनीहरुलाई बर्खास्त गरिएको विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बताए।
आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्ष विश्वविद्यालयले निकालेको हो। ‘उहाँहरुले अक्षम्य गल्ती गरेको भएर एउटा कमिटी बनाएर छानविन गरी निष्काशन गरिदिएका छौं,’ उपकुलपति सिंहले भने ।
यादव स्थायी हुन् भने पन्त करार सेवामा थिए। पन्तलाई यसअघि नै ३ महिनाका लागि निलम्बन गरिएको थियो। ‘उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको थियो, कमिटीको निष्कर्षपछि बर्खास्त नै गरिएको हो,’ सिंहले भने।
विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुसी नम्बर दिएको कमिटीको निष्कर्ष थियो। उपकुलपति सिंहका अनुसार उनीहरुलाई सफाइको मौका दिएर बर्खास्त गरिएको छ।
हाल मध्यपश्चिम विश्वविद्यालयमा कन्स्ट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल इन्जिनियरिङ विषय बढाइ हुन्छ । उक्त विषयको अन्तिम परीक्षाको प्रयोगात्मक परीक्षा ४० नम्बरको हुन्छ । १३ जना विद्यार्थीलाई ४० मा ४० नम्बर दिएको समितिको ठहर छ । स्ट्रक्चरल इन्जिनियरिङका चार वटै विषयमा पनि विद्यार्थीलाई ३४ देखि ३७ नम्बरको दरले समान नम्बर दिएको भेटिएको छ ।

