पत्रकारमाथि भएको हमलाको भर्त्सना


ललितपुर — नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कार्यसमिति सदस्य लगायत पाँच जना पत्रकारहरुमाथि भएको हमलाको भर्त्सना गर्दै दोषी माथि कारवाहीको माग गरेको छ ।

समाचार संकलनका क्रममा पत्रकार महासंघ ललितपुरका कार्यसमिति सदस्य दिपक अर्यालसहित एभिन्युज टेलिभिजन र प्राइम टेलिभिजनमा कार्यरत पाँच पत्रकारमाथि पिंगलास्थानस्थित प्यारागन पब्लिक स्कुलको व्यवस्थापनबाट भएको आक्रमण र सञ्चार सामग्री तोडफोड गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

निषेधाज्ञाको समयमा पनि प्यारागन स्कुलले विद्यार्थीबाट मनोमानी हिसावले शुल्क लिन खोजेको भन्दै सोको विरोधमा अभिभावकहरु आन्दोलनमा छन् । सोही विषयमा सोमबार विहान ११ः३० बजे समाचार संकलनका लागि स्कुल पुगेका महासंघ ललितपुरका कार्यसमिति सदस्य तथा प्राइम टेलिभिजनका दिपक अर्याल र सुन्दरबहादुर गुरुङ, एभिन्यूज टेलिभिजनका पत्रकार सरोज पौडेल, सुरेश रजक र शीतल रिजालमाथि स्कुल प्रशासनमा कार्यरत साहिर उदिन भन्ने व्यक्तिले आक्रमण गर्नुका साथै दुवै टेलिभिजनको क्यामेरा र बुममा क्षति पुर्याइएको घटनाको घोर भर्त्सना गरेको छ ।

महासंघले घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र क्षति पुगेका सञ्चार सामग्रीको क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटिरहेका पत्रकारमाथि भएको आक्रमण र सञ्चार सामग्री तोडफोडको घटनाले पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रतामा हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघ पत्रकारको संवैधानिक अधिकारमाथि आघात पुऱ्याउने यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै स्कूल प्रशासनको पनि गम्भीर ध्यानाकर्षण गराएको ललितपुर शाखाले जनाएको छ ।

प्रतिक्रिया