
दरबार हत्याकाण्ड ‘सन्दर्भमा जोडिएकी’ देवयानी कोकाकोला इन्डियाकी उपाध्यक्ष नियुक्त
काठमाडौं– दरबार हत्याकाण्ड सन्दर्भमा जोडिएकी देवयानी राणालाई बहुराष्ट्रिय कम्पनी कोकाकोला भारतले उपाध्यक्षमा नियुक्त गरेको छ।
१९ जेठ ०५८ मा भएको राजा वीरेन्द्रको वंश नाश हुनेगरी भएको हत्याकाण्डको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा दीपेन्द्रले हत्या गरेको खुलाइएको थियो। उक्त प्रकरणमा देवयानी दीपेन्द्रकी प्रेमिका रहेको र बिहे गर्न नपाएको विवादका कारणले हत्याकाण्डसम्म पुगेको सन्दर्भ उल्लेख थियो।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी हुन्। प्रदेश तथा प्रतिनिधि सभा चुनावका बेला उनी सिन्धुपाल्चोकमा पशुपति शमशेर राणाको चुनावी प्रचारका लागि आएकी थिइन्।
चार वर्षअघि उनी दोलखाबाट उनी राप्रपाको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनेकी थिइन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोकाकोलाले केही दिनअघि देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार र दीगोपना मामिलामा उपाध्यक्षमा नियुक्त गरेको हो।
दरबार हत्याकाण्डको पाँच वर्षपछि १० फागुन २०६३ मा देवयानीले भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन्। ऐश्वर्यसँग पनि उनको सम्बन्ध विच्छेद भइसकेको छ।



कागजपत्र |
