

प्रधानन्यायाधीशको प्रश्न– अघिल्लो फैसलामा वैकल्पिक सरकार बन्ने अवस्थासम्म भनेको छ नि?

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सभामुख अग्नी सापकोटाका वकिललाई प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने रिटका सन्दर्भमा सर्वोच्च अदालतको फैसला स्मरण गराएका छन्।
सभामुख सापकोटाका तर्फबाट आइतबार बहस गरिरहेका वकिल उपेन्द्रकेशरी न्यौपानेले ७६(३)को प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने र त्यसो नगरी छाड्दा ७६(५)मा पुग्दा सांसद स्वतन्त्र हुने तर्क गरेपछि राणाको प्रश्न आएको हो।
‘७६(३) सम्मका प्रयास असफल भए बहुदलीय व्यवस्था मान्ने दलकै सदस्यबाट वैकल्पिक सरकार बनाउन हो प्रावधान ७६(५)मा रहेको न्यौपानेको जिकिरपछि राणाले सोधे,‘त्यो वैकल्पिक सरकार कायम रहेको एमालेको वैकल्पिक सरकार हो कि एमालेकै सांसद लगेर वैकल्पिक सरकार हो ?’
उनले संसदले सांसद चिन्ने तर कुन दलको भनेर नचिन्ने प्रावधान ७६(५)को रहेको जवाफ दिएपछि काउन्टरमा राणाले सोधे,‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २६ जनाले हस्ताक्षर गरेको देखिन्छ। यो वैकल्पिक सरकार भन्ने सिद्धान्तसँग मेल खान्छ र? अदालतको यसअघिको फैसलाले पनि वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म भनी फैसला गरेको छ।’

