कोपा अमेरिका सेमिफाइनल: ब्राजिल–पेरु भिड्ने, अर्जेन्टिनाले कोलम्बियाको सामना गर्ने


काठमाडौं – कोपा अमेरिका–२०२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान दुई क्वाटरफाइनल खेल समपन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको हो ।

आइतबार सम्पन्न खेलमा कोलम्बिया र अर्जेन्टिनाले जित हात पारेपछि सेमिफाइनल संस्करण पूरा भएको हो ।

पहिलो खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो भने दोस्रो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० ले पराजित गर्दैै सेमिफाइनल प्रवेश गर्यो । यससँगै सेमिफाइनलको दोस्रो खेलमा अर्जेन्टिना र कोलम्बिया भिड्ने भएका छन् ।

त्यसअघि साविक विजेता ब्राजिल र साविक उपविजेता पेरु सेमिफाइनल प्रवेश गरिसकेका थिए । २०१९ मा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा दक्षिण अमेरिकाका १० राष्ट्रलाई दुई समूह्यमा विभाजन गरेर खेलाइएको थियो । जसमा समूह ‘ए’बाट अर्जेन्टिना मात्र सेमिफाइनल पुग्न सफल भएको छ । समूह ‘बी’ बाट ब्राजिलसँगै पेरु र कोलम्बिया सेमिफाइनल पुगेका हुन् ।

अब ब्राजिल र पेरुबीचको खेल मंगलबार बिहान नेपाली समय अनुसार ४ः४५ बजे सुरु हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया