

सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च

काठमाडौँ – निरन्तरको बर्षा जारी रहे सँगै सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च भएको छ । आज शनिबार बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ । कोशीमा पानीको बहाव यस वर्षकै उच्च हो ।
शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव रातभरमा २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो ।
बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसी नदीमा बहाव बढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो वर्षा हो ।
बहाव बढेपछि आज बिहानसम्ममा कोसी ब्यारेजका २८ वटा ढोका खुला गरिएको छ । शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो। कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।
पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ । पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहेका कारण कोसीको बहाव अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले पानीको सतह अझै बढ्नसक्ने भएकाले सप्तकोसी क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको बताए ।

