

विश्वमा कोरोना तथ्यांकः एकैदिन १० हजार बढीको मृत्यु, संक्रमित संख्या ५ करोड ६० लाख नजिक

काठमाडौं – विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ५९ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ५ लाख ४४ हजार ५ सय ७८ नयाँ संक्रमित थपिएसँगै हालसम्म ५ करोड ५९ लाख ३२ हजार ६ सय २४ पुगेको हो ।
पछिल्ला दिनमा अमेरिकामा कोरोना प्रभाव बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा मात्र १ लाख ५५ हजार ४ सय ८८ जना संक्रमित थपिएका छन् भने १ हजार ६ सय २ जनाको मृत्यु भएको छ । अमेरिकामा यससँगै हालसम्म कोरोना संक्रमितको संख्या १ करोड १६ लाख ९३ हजार ९ सय ३८ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५४ हजार २ सय ४४ पुगेको छ ।
विश्वभर पछिल्लो २४ घन्टामा मात्र १० हजार ४ सय ८६ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ लाख ४२ हजार ९ सय २८ पुगेको छ ।
हालसम्म ३ करोड ८९ लाख ४९ हजार ३ सय ९३ जना संक्रमण मुक्त भइसकेको विश्वमा अहिलेको अवस्थामा पनि १ करोड ५६ लाख ३ सय ३ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख भन्दा बढी गम्भीर प्रकृतिका बिरामी रहेको तथ्यांक देखिएको छ ।
कोरोना संक्रमित र मृतकको सूचीमा अमेरिका शीर्षस्थानमा रहेको छ भने नेपालको छिमेकी मुलुक संक्रमितमा दोस्रो र मृतक संख्यामा तेस्रो स्थानमा रहेकोछ ।
त्यस्तै सबैभन्दा धेरै संक्रमणमुक्त भारतमा भएका छन् भने तुलनात्मक रुपमा सबैभन्दा कम संक्रमणमुक्त फ्रान्समा भएका छन् । भारतमा ८९ लाख संक्रमितमध्ये ८३ लाखभन्दा बढी संक्रमण मुक्त भएका छन् भने फ्रान्समा २० लाख संक्रमितमध्ये जम्मा १ लाख ४३ हजार मात्र कोरोनामुक्त भएको तथ्यांक सार्वजनिक भएको छ ।

