१ वर्षदेखि रोकिएको पाम तेलको निकासी ६ महिनाका लागि खुला


विराटनगर – एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला भएको छ ।

बुधबार सूचना जारी गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरेसँगै नेपालबाट निकासी खुला भएको हो ।

१३ महिनापछि भारतले खुला गरेको आयात भने ६ महिनाका लागि मात्रै रहनेछ । विभागको सूचना अनुसार ३१ डिसेम्बरसम्म मात्रै आयात खुला गरिएको छ ।

एक वर्षभन्दा बढी समयदेखि रोकिएको निकासी खुला हुँदा पाम तेल उत्पादन गर्ने उद्योगहरुलाई राहत मिलेको विराटनगरका उद्योगीहरुले बताएका छन् । नेपालमा २० वटा पाम तेल निर्यात गर्ने उद्योगहरु रहेका छन् ।

ती उद्योगले मलेसियाबाट कच्चा पदार्थ आयात गरी पाम तेल बनाएर भारततर्फ निकासी गर्दै आएका थिए । भारतले आयात बन्द गरेपछि उद्योगहरुले उत्पादन कटौती गरेका थिए । नेपालका उद्योगीले मलेसिया र इन्डोनेसियाबाट पाम तेल उत्पादनका लागि कच्चा पदार्थ आयात गर्छन् ।

प्रतिक्रिया