

प्रधानमन्त्रीका वकिलसँग प्रधानन्यायाधीशको प्रश्नै-प्रश्न, ‘१४९ जनाको समर्थन जुटाउँदा शेरबहादुरले के गल्ती गर्नुभयो ?’

काठमाडौं — सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाईका क्रममा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गरिएको बहसका क्रममा प्रश्नै–प्रश्न सोधेका छन् ।
प्रधानान्यायाधीश राणाले सरकारका तर्फबाट बहस गरिरहेका बरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता अग्नी खरेलको बहसका क्रममा खरेललाई प्रश्नहरु सोधेका हुन् ।
खरेलको बहसका क्रममा राणाले, ‘कांग्रेस सभापति शेर बहादुर देउवाले स्वतन्त्र सांसद सहित १ सय ४९ जनाको समर्थन लिएर प्रधानमन्त्रीमा दावी गर्दा ‘के गल्ति गर्नुभयो ?’ भनेर प्रश्न गरेका छन् ।
राणाले बरिष्ठ अधिवक्ता खरेललाई सोधे–‘दलबाटै चाहियो कि अरुबाट पनि समर्थ हुन सक्छ, शेरबहादुरले दावी गर्दा पार्टी, अन्य सदस्य र दलका सांसद सहित १४९ जनाको लिएर जानुभयो, त्यसमा शेरबहादुरले के गल्ति गर्नुभयो ?
धारा ७६ (५) मा दलले मात्र सरकार बनाउने हो भने, संसदमा स्वतन्त्र हैसियतमा रहेका ४ जना सांसदको भुमिका के हुने भन्नेबारे जबराले स्पष्टता खोजे ।
बहसका क्रममा अधिवक्ता खरेलले प्रधानमन्त्रीले धारा ७६ (५) बमोजिम सरकार गठनको दाबी गर्न पाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला राणाले खरेल समक्ष प्रश्न राखेका थिए ।
बरिष्ठ अधिवक्ता खरेललाई पटक–पटक प्रश्न गरेका प्रधान न्यायाधीशले, ‘उपधारा ५ को सरकारमा दावी गरेर निवेदन परेपछि राष्ट्रपतिले कुन सदस्यले भोली भोट हाल्छ हाल्दैन भनेर कागज गर्नुपर्ने थियो कि थिएन ?’ भनेर प्रश्न गरेका थिए ।
धारा ७६ (३) अनुसारका प्रधानमन्त्री ओलीले विश्वासको मत नलिइकन ७६ (५) मा जान सक्ने खरेलले जिकिर गरेका थिए । अन्तिम अवस्थामा जसपाले समर्थन गरेपछि ओलीले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गरेको खरेलले बताए ।

