

राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदै, विभिन्न अध्यादेश पेस हुने तयारी

काठमाडौँ – आज राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि हुने भएको छ । आज दिउँसो ४ बजे आठौँ अधिवेशनको पहिलो बैठक बस्ने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ।
आजको बैठकमा संवैधानिक परिषद् र सपथसम्बन्धी अध्यादेश, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) लगायत विभिन्न अध्यादेश पेस हुने जनाइएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले यसअघि नै बैठक सञ्चालनबारे विपक्षी दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग परामर्श गरेका थिए ।

