५ करोड हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २० जनालाई पक्राउ गर्न अदालतको आदेश


दाङ – देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध दाङ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

रकम हिनामिनाको विषयमा परेको मुद्दामा अध्यक्ष सुवेदीसहित २० जनालाई पक्राउ गर्न अदालतले आदेश गरेको हो । सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यसअघि नै अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

पक्राउ परेका पाँच जनामध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । कर्मचारी र पदाधिकारीहरुसहित २५ जनाविरुद्ध अदालतमा मुद्दा परेको छ ।

अदालतका श्रेस्तेदार धनसिंह गिरीले उनीहरुलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश जारी गरेको जानकारी दिएका छन् । ३५ दिने पक्राउ पूर्जी जारी गरिएको भन्दै यो बीचमा पनि पक्राउ गरेर अदालतमा हाजिर नगराए घरमै म्याद टाँगिने उनले बताए ।

प्रतिक्रिया