एक अध्यक्षको निर्देशनमा अर्का अध्यक्ष भेट्न खुमलटार पुगे महासचिव पौडेल


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।

पार्टीको भोली अर्थात् मंसिर ३ का लागि बोलाइएको सचिवालय बैठकको पूर्वसन्ध्यामा भएको अध्यक्ष दाहाल र महासचिव पौडेलबीचको भेटमा पछिल्लो समयमा देखिएको पार्टीभित्रको गतिरोध अन्त्यबारे छलफल भएको बताइएको छ।

गत शुक्रबार अर्थात् २८ गते झण्डै ४० दिनपछि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओली पक्षधर नेताहरूले फिर्ता लिनुपर्ने बताउँदै आएका छन्।

प्रधानमन्त्री निकट सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले सार्वजनिक रूपमै प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका छन्।

दाहालले पेश गरेका प्रतिवेदन फिर्ता नलिएसम्म पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयमा सहभागी नहुने सम्भावना रहेको छ । सोही प्रतिवेदनका बारेमा छलफल गर्नका लागि महासचिव पौडेललाई प्रचण्ड निवास खुमलटार पठाइएको जनाइएको छ ।

प्रतिक्रिया