युरोकप २०२०ः इंग्ल्याण्ड र युक्रेन क्वाटरफाइनलमा, जर्मनी बाहिरियो


काठमाडौं – जारी युरोकप फुटबल अन्तर्गत मंगलबार राती सम्पन्न दुई खेलमा इंग्ल्याण्ड र युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंलबार राती भएको पहिलो खेलमा जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो । लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा इंग्याण्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० गोल अन्तरको जित सुनिश्चित गरे ।

त्यस्तै दोस्रो खेलमा स्वीडेनलाई पराजित गर्दै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।

युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्वीडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।

निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १ सय २०औँ मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २–१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे ।

जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बनेको छ । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया