

मंगलवार नेप्सेमा ४७.४९ अंककाे गिरावट, कारोबार रकम पनि घटयो

काठमाडौं – साताको तेस्रो दिन मंगलवार नेपाल स्टक एक्सेन्च (नेप्से) ४७.४९ अंकले घटेको छ। यस दिन २८८०.३४ विन्दुदेखि खुलेको बजार १.६५ प्रतिशत घटेर २८२८ विन्दुमा झरेको हो । सेन्सेटिभ इन्डेक्स पनि १.८५ प्रतिशत अर्थात् ९.८७ अंकले घटेर ५२३.७० विन्दुमा झरेको छ ।
दोहोरो उच्च अंकले घटेको मंगलवारको बजारमा ओरियण्टल होटलको शेयरमूल्य सर्वाधिक ५.७६ प्रतिशतले बढेको छ । यो दिन ओरियण्टल होटलको मूल्य प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू ६०६ कायम भएको हो ।
यो दिन सर्वाधिक मूल्य घट्ने पाँच कम्पनीभित्र परेका हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ८.०७ प्रतिशत, वेष्ट फाइनान्सको ८.०१ प्रतिशत, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ७.१८ प्रतिशत र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ६.९० प्रतिशत घटेको छ ।
मंगलवार ७५ हजार ८८० पटक १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर कारोबार हुदाँ रू. ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार बराबरको कारोबार भएको छ ।
मंगलवार २२३ ओटा कम्पनीको शेयर कारोबार भएको हो । यस दिन राधी विद्युत् कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीले रू. ४९ करोड ८३ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ ।

