

त्यो प्रचण्डको आरोपपत्र हो, प्रधानमन्त्रीले जवाफ दिनुपर्दैनः मुख्यमन्त्री गुरुङ

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका नेता पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको दस्तावेजलाई आरोप पत्रको संज्ञा दिएका छन् ।
दस्तावेज दुबै अध्यक्षले पेश गर्नुपर्ने पार्टी एकताको भावना विपरित एकलरुपमा पेश भएकाले त्यो दस्तावेज नभई आरोप पत्रमात्र रहेको उनको जिकिर छ ।
त्यसको जवाफ प्रधानमन्त्रीले दिन नपर्ने उनले बताएका छन् । पार्टीमा नमिलेका कुरा छलफल गर्ने विषय रहेको भने उनले बताए ।
कार्यकारी अध्यक्ष प्रचण्डले अरोपपत्र दर्ज गर्नुले पार्टीमा संकट पैदा भएको उनको टिप्पणी छ । उनले प्रचण्डले मिथ्या अरोप लगाएका भन्दै त्यसकोे जवाफ दिन नपर्ने बताएका हुन् ।
पार्टी विभाजनको डीलमा पुगेकाले यसलाई जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड दुबैले भूमिका खेल्नुपर्ने उनको भनाई छ ।
हाल काठमाडौंमै रहेका मुख्यमन्त्री गुरुङले त्यसका लागि आफूहरुले प्रधानमन्त्रीलाई आग्रह गरेको समेत जानकारी दिए । आइतबार राति प्रधानमन्त्रीसँग पूर्वमाओवादीका केही नेता सहित भएको बैठकमा आफूले यस्तो सुझाव दिएको उनले बताए ।
‘पूर्व माओवादीका समेत साथीहरु सहित अस्ती राति (आइतबार) हामीले प्रधानमन्त्रीलाई भेटेका हौं । मैले विषको घडा पिएर भए पनि पार्टी एकता बचाउन प्रधानमन्त्रीलाई आग्रह गरेँ, सहभागी अरु साथीहरुले पनि यस्तै आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ज्युले पनि तपाईहरु ढुकक हुनुहोस् म कुनैहालतमा पार्टी फुट्न दिन्न भन्नुभएको छ,’ मुख्यमन्त्री गुरुङले भने ।
‘प्रधानमन्त्रीले विषको घडा पिएर भए पनि पार्टी एकता जोगाउनुपर्छ भनेको राजिनामा दिएर पनि एकता जोगाउन खोज्नुभएको हो रु’ भन्ने प्रश्नमा मुख्यमन्त्री गुरुङले राजिनामा अहिलेको समस्याको हल नरहेको प्रष्टाए ।
उनले मन्त्रिपरिषद् पुर्नगठन र विगतका सहमति अनुरुप नै पार्टी अगाडि बढ्नु पर्ने बताए ।

