

नेकपा विभाजन भए यस्तो बन्न सक्छ दुई वटा पार्टी र नेता समीकरण

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको खण्डमा नयाँ समिकरणमा नेताहरू लाग्ने सम्भावित आँकलन गरिएको छ। अब पार्टी विभाजन हुँदा एमाले र माओवादी नहुने त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताई सकेका छन्।
नेकपा फुट्नेतर्फ प्रायः नेताले संकेत गरिरहेका छन्। यस्तो अवस्था आएको खण्डमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जनताको बहुदलीय जनवाद (जबज)को सैद्धान्तिक लाइनमा एकीकृत माक्र्सवादी लेलिनवादी (एमाले) गठन हुनेछ। यो पार्टी निर्वाचन आयोगमा दर्ता नै छ।
उता प्रचण्डको नेतृत्वमा नेकपा नै रहनेछ। प्रचण्ड नेतृत्वको पार्टीले माओवादी विचारधारालाई भने सैद्धान्तिक लाइन बनाउने छैन। उसले माक्र्सवादलाई नै अगाडि सार्दै २१ औं शताब्दिको जनताको जनवादलाई अँगाल्नेछ।
को नेता कता?
ओली नेतृत्वको पार्टीमा पूर्वमाओवादीका तर्फबाट केही नेता सामेल हुनेछन्। ओली नेतृत्वमा सचिवालयमा रहेका महासचिव विष्णु पौडेल, सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा बादल हुनेछन् भने स्थायी समिति सदस्यहरू प्रदिप ज्ञवाली, शंकर पोखरेल, योगेश भट्टराईलगायत हुने अनुमान गरिएको छ।
प्रचण्डसँग भने बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौत, प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनेछन्। एउटा लिखित सहमतिका आधारमा मात्रै बरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डलाई साथ दिन सक्ने अनुमान गरिएको छ।
नेकपाभित्र गम्भीर विवादका कारण पार्टी जोगाउन कठिन अवस्था रहेको नेताहरूले बताएका छन्। सचिवालय बैठकमा प्रचण्डले राखेको एकल प्रतिवेदन वा प्रस्ताव फिर्ता नलिएको खण्डमा पार्टी विभाजनमा जान सक्ने खतरा बरिष्ठ नेताहरूले नै जनाइसकेका छन्।
उपप्रधानमन्त्री पोखरेलले त उक्त प्रस्ताव फिर्ता नभए विग्रह हुने बताइसकेका छन् भने परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले पनि पार्टी विभाजनको संकेतसहित ट्वीट गरिसकेका छन्।
उता पूर्वमाओवादी खेमाका दोस्रो तहका केही नेताले त्यस्तै संकेत गरेका छन् भने उपाध्यक्ष गौतमले उक्त प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने दाबी समेत गरिसकेका छन्। उनले ‘यो ५ जनाको सामूहिक प्रस्ताव’ रहेकाले फिर्ता नहुने बताएका छन्।
नेकपा विभाजनमा गएको खण्डमा दुवैको अवस्था ५०–५० प्रतिशतको भने नहुने स्पष्ट छ। यसपटक भने प्रचण्ड नेतृत्वमा ६० र ओली नेतृत्वमा ४० प्रतिशतको हिस्सेदारीमा नेता, सांसद र स्थानीय तहका नेता कार्यकर्ता विभाजित हुन सक्ने अनुमान गरिएको छ।
उच्च स्रोतले भन्यो,‘सकभर विभाजन रोकेर जाने विषयमा नेता नेपालको भूमिका प्रभावकारी देखिन सक्छ। अबको सचिवालयमा यस्तो भूमिकामा पूर्वएमालेका बरिष्ठ नेता नदेखिए टकरावले नयाँ मोड लिनेछ।’
प्रचण्ड पक्षको मत ओलीले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद त्याग्नुपर्ने र आत्मआलोचना गर्नुपर्ने छ भने ओलीले निर्वाचित अध्यक्ष भएका कारणले कुनै पद नत्याग्ने बताएका छन्। अहिले प्रधानमन्त्री पदबाट आफूले राजीनामा दिएको खण्डमा मुलुकमा फेरि अस्थिरता आउने ओलीको भनाई छ।
नेकपाको अहिलेको विवाद समाधानका निम्ति दोस्रो तहका नेताहरूको सामूहिक गठजोड बन्न सक्ने पनि धेरैले आँकलन गरेका छन्। महासचिव पौडेल संयोजकत्वमा बनेको विवाद समाधान कार्यदललाई सक्रिय बनाएर समाधानका निम्ति सचिवालय बैठकमा दोस्रो तहका नेताहरूको पत्र वा सन्देश पठाइने तयारी समेत भएको छ।
नेकपा सचिवालय भोली (बुधबार) दिउँसो १ बजेका लागि बालुवाटारमा डाकिएको छ। उक्त बैठकलाई वार या पारको कसीमा राखेर नेताहरूले नै व्याख्या गर्दै आएका छन्।

