

कोरोनाबाट तंग्रिँदै कर्णाली, ९१ प्रतिशत संक्रमितले जिते कोरोना

सुर्खेत – कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १२४ पुगेको छ ।
कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ ।
कूल संक्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत)ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।
“पछिल्लोे दुई सातायता कोरोना संक्रमण दर ओरालो लागेको छ । अहिले संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको छ”, निर्देशक डा. खड्काले भने, “नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले संक्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।”
आइसोलेशनमा बस्ने दुई हजार संक्रमितको संख्या घटेर एक हजार २३० मा पुगेको उनले बताए । उनका अनुसार मृत्युको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र संक्रमणाबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

