

१० महिनामा ४३ पटक परिक्षण गर्दा कोरोना पोजेटिभ, श्रीमतीलाई भने, ‘अब मलाई मर्न देउ’

काठमाडौं– करोडौं मानिसलाई संक्रमित बनाइसकेको र लाखौं मानिसको ज्यान लिइसकेको कोरोना महामारी सामान्यतयाः १४ दिन पछि लक्षण हराउँदै जाने र उपचारपछि एक महिनाजतिमा नेगेटिभ रिपोर्ट आउने मान्यता रहिआएको छ । तर, बेलायतमा भने अचम्मैको घटना पाइएको छ ।
बेलायतमा एउटा यस्तो घटना बाहिर आएको छ कि कुनै पनि व्यक्तिलाई १० महिनासम्म ४३ पटक परिक्षण गर्दा पनि कोरोना पोजेटिभ आईरहेको छ ।
बेलायतको ब्रिस्टलका डेव स्मिथ भन्ने ७२ वर्षीय पुरुषमा विगत १० महिनादेखि कोरोना पोजेटिभको रिपोर्ट आइरहेको बीबीसीको रिपोर्टमा जनाइएको छ ।
कोरोना भाइरसको संक्रमण यति लामो समयसम्म देखिएको समाचार पहिलोपटक बाहिर आएको हो । कोरोना पोजेटिभ देखिएपछि १० महिनाको अवधिमा ७ पटक अस्पताल भर्ना भएका छन् ।
स्मिथले आफूले बाँच्छु भन्ने आशा मारेको बताउँदै एक रात लगातार ५ घन्टासम्म खोकी लागेको र साह्रै गाह्रो भएकाले परिवारका सबै सदस्यलाई बोलाएर गुडबाई समेत भनिसकेको बताए । उनले आप्mनी श्रीमतीलाई बोलाएर अब ‘मलाई मर्न देउ’ समेत भनेको बताए ।
अहिले पछिल्लो समयमा भने डाक्टरले उनको रिपोर्ट नेगेटिभ आएको बताए पनि आफूलाई विश्वास नलागेर पुनः दोस्रो पटक परिक्षण गराएको बताए । त्यसपछि उनी हाल १० महिनापछि कोरोनामुक्त भएका छन् । उनले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएपछि स्याम्पियन खोलेर खुशी मनाएको बताएका छन् ।

